खाँबो चिथोर्न बन्द गर्न गोकुल बाँस्कोटाको सुझाव

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

नेकपा एमाले का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले झन्डै दुईतिहाइ बहुमतसहित चुनाव जितेको रास्वपाले सरकार सञ्चालन गर्ने जिम्मेवारी आफैं वहन गर्ने बताएका हुन्।



उनले नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिनासम्म अन्य पक्षबाट टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गरे। “रास्वपाले चुनाव जित्यो, अब सरकार कसरी चलाउँछ भन्ने उनीहरूकै कुरा हो। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो,” उनले लेखेका छन्।

बास्कोटाले जनता सधैँ साझा रहने उल्लेख गर्दै यसपटक मतदाताले रास्वपालाई रोजेको बताए। रास्वपाका प्रतिबद्धतामा जनताले विश्वास गरेकाले सरकारलाई काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ।

उनले अनावश्यक आलोचना र खिचातानी नगर्न आग्रह गर्दै सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। “जनता साझा थिए, छन् र हुने नै छन्। फरक यति मात्र हो कि यसपटक उनीहरूको रोजाइ रास्वपा बन्यो। त्यसैले खाँबो चिथोर्न बन्द गरे हुने,” बास्कोटाले लेखेका छन्।