बले पक्राउको विधिशास्त्र : आरोप बलात्कारको, कसुर ‘अभद्र व्यवहार’को

  • प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई पाँच दिनको लागि म्याद थप भएको छ । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । उनलाई अभद्र व्यवहार कसूरमा अनु्सन्धान गरिने भएको छ ।

अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत सागर लम्साल (बले) ले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेकी बिहीबार फेसबुकमार्फत उनले बताएकी थिइन् । उक्त आरोपपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सागर लम्साललाई शनिबार पक्राउ गरेको थियो । तर, उक्त कसुर बमोजिम कारबाही अगाडि नबढेको प्रहरीले बताएको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार तत्काल हिरासतमा राख्नका लागि अभद्र व्यवहारविरुद्धको कसुर आकर्षित गरिएको हो । ‘एउटी युवतीले सामाजिक सञ्जालमा सागर लम्साल (बले) विरुद्ध लेखेको स्टाटस् नै प्रहरीलाई भएको संज्ञान त्यति नै हो । उहाँसँग जोडिएर आएको विषयवस्तु भएकोले, विषय वस्तु यकिन गर्छाैँ । त्यसमा हामीलाई आधिकारिक उजुरी नभएसम्म सार्वजनिक कसुरमा होल्ड गरेर राख्छौँ,’ प्रवक्ता भटराईले भने, ‘त्यसपछि यो विषय र त्यो विषयलाई सँगै अनुसन्धान अघि लिएर अघि बढाउँछौं ।’

उनले ग्लोबल अटेन्सनको आधारमा बले पक्राउ परेको बताए । ‘एउटा महिलाले आरोप लगाएपछि ग्लोबल अटेन्सनको विषय भएको हुनाले हामीले संज्ञानमा लिएका हौँ । कानुनी विधि र प्रक्रिया चाहिँ जुन अपराधसंहिताले तोकेको छ सोहीअनुसार हामी अघि बढ्छौँ,’ उनले थपे, ‘यसको संवेदनशीलता र अरु असरहरूलाई ध्यानमा राखेर बुझ्ने प्रयत्न भइरहेको छ ।’

युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाए पनि प्रहरीमा भने कुनै जाहेरी नपरेको खुलेको छ । यद्यपि, बलेलाई पक्राउ गरी आइतबार पाँच दिन म्याद थप गरिएको छ । तर, पीडित र पीडित परिवारको पक्षबाट अहिलेसम्म उजुरी परिसकेको छैन । मुलुकी अपराधसंहिता २०७४ को दफा ३ अनुसार ‘कुनै नेपाली नागरिक वा अन्य कसैले नेपाल बाहिर कुनै नेपाली नागरिकविरुद्ध देहायको कुनै कसुर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसुर गरे सरह यस संहिता बमोजिम सजाय हुने व्यवस्था गरिएको छ । जसअन्तर्गत जबर्जस्ती करणीको कसुर समेत रहेको छ ।’

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार जबर्जस्ती करणी गर्न नहुने भनि लेखिएको छ । सोही दफाको उपदफ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।