देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ : इन्टरपोलले मागेको थप कागजात पठाइयो

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक थप कागजात मागेपछि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले सम्बन्धित विवरण पठाइसकेको छ । “केही दिनअघि थप कागजात माग गर्दै इमेल आएको थियो, सोही अनुसार आवश्यक कागजात पठाएका छौं,” प्रहरी स्रोतले जनाएको छ ।



गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो ।

एनसीबीले रेड नोटिस जारीका लागि औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरिसकेको भएपनि आवश्यक कागजात अपुग रहेको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए । उनीहरू १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ । स्रोतका अनुसार उनीहरू हाल पनि हङकङमै रहेका छन् ।

यसअघि जेनजी आन्दोलनपछि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला भने उपचारपछि नेपाल फर्किएका थिए । तर यसपटक १४ फागुनदेखि देश बाहिर रहेका उनीहरू हालसम्म स्वदेश फर्किएका छैनन् ।

यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि सम्बन्धित कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ ।