बेलायतको मुख्य राजनीतिक शक्ति बन्ने बाटोमा रिफर्म यूके, आप्रवासीलाई ‘टार्गेट’

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा विहीबार भएको चुनावी नतिजाले राजनीतिमा ठूलो हलचल नै पैदा गरिदिएको छ । चुनावी नतिजाले अहिले प्रधानमन्त्री केअर स्टार्मर र लेबर पार्टीमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ ।

इंग्ल्यान्डका १३६ काउन्सिलका ५ हजार ६६ सिटका लागि भएको चुनावमा रिफर्म यूके सबैभन्दा ठूलो विजेता बनेको छ । नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले १ हजार ४ सय ५३ सिट जितेको छ ।



लेबर पार्टी भने १ हजार ४ सय ९६ सिट गुमाउदै १ हजार ६८ सिटमा सीमित भएको छ । लिबरल डेमोक्रेटिकले ८ सय ४४ सिट जितेको छ ।

कन्जरभेटिभ ५ सय ६३ सिट गुमाउँदै ८ सय १ सिटमा सिमित भएको छ । त्यस्तै, ग्रीनले ५ सय ८७ सिट र इन्डिपेन्डेन्स पार्टीले २ सय १२ सिट जितेको छ ।

चुनावी नतिजालाई बेलायतको पुरानो दुई-दलीय राजनीतिमा आएको सबैभन्दा ठूलो धक्का मानिएको छ ।

वेल्समा पनि लेबर पार्टीले ऐतिहासिक झड्का बेहोरेको छ । २७ वर्षसम्म सत्ता चलाएको लेबर पार्टी पराजित भएको हो ।

प्लाइड क्याम्री ४३ सिटसहित वेल्स संसदको सबैभन्दा ठूलो पार्टी बनेको छ । रिफर्म यूकेले ३४ सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ । लेबर पार्टी जम्मा ९ सिटमा खुम्चिएको छ ।

स्कटल्यान्डमा एसएन्पीले लगातार पाँचौँ पटक चुनाव जित्दै आफ्नो प्रभुत्व कायम राखेको छ । एसएनपीले ५८ सिट जितेको छ भने रिफर्म यूकेले पहिलोपटक उल्लेखनीय सफलता हासिल गर्दै १७ सिट हात पारेको छ । लेबरले पनि १७ सिट सुरक्षित गरेको छ। ग्रीनले १५ र कन्जरभेटिभले १२ सिट जितेका छन् । लिम्डेमले १० सिट हासिल गरेको छ ।

विश्लेषकहरूका अनुसार अहिलेको नतिजाले एउटा स्पष्ट सन्देश दिएको छ- बेलायती मतदाता अब पुराना दलसँग असन्तुष्ट छन् । महँगी, आप्रवासन, सार्वजनिक सेवाप्रतिको असन्तुष्टि र राजनीतिक निराशाले मतदाता नयाँ विकल्पतर्फ गएको देखिएको छ ।

सबैभन्दा ठूलो दबाब अहिले प्रधानमन्त्री किअर स्टार्मरमाथि परेको छ । पार्टीभित्रै उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेका छन् । स्टार्मर भने आफू राजीनामा नदिने अडानमा छन् ।

तर, नतिजाले भने नाइजर फराज नेतृत्वको रिफर्म यूके अब बेलायतको मुख्य राजनीतिक शक्ति बन्ने बाटोमा देखिएको छ ।

रिफर्म यूकेले २०२९ मा हुने आम निर्वाचन जितेमा विगत पाँच वर्षदेखिका सबै असाइलम दावी गर्नेहरूको तत्काल समीक्षा गर्ने वाचा गरेको छ । उसको योजना अन्तर्गत झण्डै ४ लाख आप्रवासी डिपोर्टका लागि उत्तरदायी हुने पार्टीको ठहर छ ।

रिफर्म यूके नेतृत्वको सरकारले यसअघि असाइलम भिजा दिइएको, भिजाभन्दा बढी ओभर स्टे बसेको वा आफ्नो देश सुरक्षित भएको देशबाट समेत आएका जो कोहीलाई लक्षित गर्ने घोषणा गरिसकेको छ ।

त्यसो त वर्तमान लेबर सरकारले पनि आप्रवासनमा कडाइको घोषणा गरेको छ, जसमा मानव तस्करी गिरोहहरूलाई निस्तेज पार्ने, शरणार्थी बसेका होटलहरू खाली गर्ने र आइएलआर पाउने यसअघिको समय ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउने आदि छन् ।