मोदीलाई प्रश्न सोध्ने नर्वेकी पत्रकार हेली लिङ भारतमा किन विवादमा परिन् ? किन भयो हमला ?

  • प्रकाशित मिति : २०८३ जेष्ठ ६, बुधबार
  • नेपाल टेल संवाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सत्तामा आएयता एउटा परम्परा कायम राखेका छन् । पत्रकार सम्मेलन नगर्ने, आलोचनात्मक प्रश्नबाट टाढा बस्ने र सार्वजनिक रूपमा स्वतन्त्र प्रेससँग प्रत्यक्ष संवाद नगर्ने । यही पुरानो शैलीले यसपटक भने युरोपको एउटा लोकतान्त्रिक देश नर्वेमा नयाँ विवाद जन्मायो ।

नर्वेको औपचारिक भ्रमणमा पुगेका मोदीले नर्वेका प्रधानमन्त्री जोनास गर स्टोसँगसँग संयुक्त वक्तव्य त दिए, तर पत्रकारको प्रश्न लिनेबित्तिकै कार्यक्रम छाडेर हिँडे । त्यसैबेला नर्वेकी पत्रकार हेली लिङले ठूलो स्वरमा प्रश्न गरिन्—’प्रधानमन्त्री मोदी, तपाईं विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसमध्ये एकको प्रश्न किन लिनुहुन्न ?’



मोदीले फर्केर हेरेनन् । जवाफ दिएनन् । तर त्यो केही सेकेन्डको दृश्यले भारतको राजनीतिक र डिजिटल दुनियाँमा ठूलो बहस जन्माइदियो । हेली लिङ त्यत्तिमै रोकिइनन् । पछि भारतीय कूटनीतिज्ञहरूले आयोजना गरेको पत्रकार भेटघाटमा उनले अर्को सीधा प्रश्न गरिन्—’हामी भारतलाई किन विश्वास गर्ने ? तपाईंको देशमा मानवअधिकार उल्लंघन भइरहेको आरोप छ ।’ उनले थप प्रश्न पनि गरिन्— ‘के भारतीय प्रधानमन्त्रीले कहिल्यै आलोचनात्मक प्रश्नको सामना गर्नेछन् ?’

भारतीय विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ सीबी जर्जले ती आरोप अस्वीकार गरे । उनले भारतको संविधान, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको बचाउ गर्दै भने—’भारतको विशालता धेरैलाई थाहा छैन । केही एनजिओको रिपोर्ट पढेर मानिसहरू निष्कर्ष निकाल्छन् । हामी लोकतान्त्रिक समाज हौँ र त्यसमा गर्व गर्छौँ ।’ तर विवाद यतिमै सीमित रहेन ।

ट्रोल सेना भर्सेस पत्रकारिता

हेली लिङले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गरेपछि भारतका दक्षिणपन्थी र मोदी समर्थक समूहहरू उनीमाथि खनिए । कसैले उनलाई ‘विदेशी एजेन्ट’ भने, कसैले ‘भारतलाई बदनाम गर्न खोज्ने पात्र’को आरोप लगाए । केही भारतीय टेलिभिजन च्यानलले त उनको शैलीलाई ‘अशिष्ट’ समेत भने । त्यसपछि हेलीको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि आक्रमण भयो । ती प्लेटफर्म प्रभावहीन बने । तर उनी एक्समा झन् चर्चित भइन् । केही हजारमा सीमित उनका फलोअर छोटो समयमै आधा लाख नाघे ।

हेलीले भने आफ्नो बचाउमा स्पष्ट जवाफ दिइन्— “’यही नै प्रहारमुखी पत्रकारिता हो । कहिलेकाहीँ बीचमै प्रश्न गर्नुपर्छ । जवाफ खोज्नुपर्छ । र मैले आफ्नो कर्तव्य निभाएँ ।’

विपक्षीको समर्थन, सत्तापक्षको आक्रोश

भारतीय विपक्षी नेताहरूले भने हेलीको खुलेर समर्थन गरे । तृणमूल कंग्रेसकी सांसद मौवा मैत्राले सामाजिक सञ्जालमा लेखिन्—’प्रिय हेली, भारतका लाखौँ नागरिक र विपक्षीको तर्फबाट धन्यवाद । पत्रकारिताले सत्तालाई प्रश्न गर्नुपर्छ । जवाफ छैन भने सत्य पनि छैन ।’ उनले अर्को पोस्टमा मोदी समर्थित ट्रोल समूहले हेलीमाथि गरेको व्यक्तिगत आक्रमणलाई ‘मोदीकालीन भारतको वास्तविक अनुहार’ भनेकी छन् ।

प्रश्न केवल एउटा पत्रकारको होइन

यो घटना वास्तवमा एउटी नर्वेकी पत्रकार र भारतीय प्रधानमन्त्रीबीचको सामान्य संवाद मात्र होइन । यसले भारतमा प्रेस स्वतन्त्रता, आलोचनात्मक पत्रकारिताप्रतिको सहिष्णुता र सत्ताको जवाफदेहितामाथि गम्भीर बहस फेरि उठाएको छ । रिपोर्टस् विथआउट बोर्डर्सले सार्वजनिक गरेको पछिल्लो विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत १८० देशमध्ये १५७औँ स्थानमा छ । जबकि नर्वे लगातार शीर्ष स्थानमा रहँदै आएको देश हो । त्यसैले हेली लिङको प्रश्न केवल ‘किन प्रश्न लिनुहुन्न ?’ भन्ने मात्र थिएन । त्यो प्रश्न लोकतन्त्रमा सत्ताले आलोचनासँग कति सहज महसुस गर्छ भन्ने विषयसँग पनि जोडिएको थियो । र, सम्भवतः यही कारणले त्यो प्रश्न भारतमा यति धेरैलाई असहज बनायो ।