परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा जेठ २२ गतेदेखि भारतको औपचारिक भ्रमणक्रममा विभिन्न विषयमा छलफल भएका छन् ।
भारतस्थित नेपाली दुताबासका अनुसार, भ्रमणक्रममा जेठ २३ गते नयाँ दिल्लीमा दुई देशका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनता(जनताबीचको सम्बन्ध लगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरुको समीक्षा भएको थियो ।
दुताबासले सार्वजनिक गरेको विज्ञप्तिमा मन्त्रीद्वयले आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरुमा पनि विचार आदानप्रदान गरेका थिए । दुवै देशका मन्त्रीहरुले विभिन्न क्षेत्रमा भएका द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवम् तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउन सहमति जनाएका थिए ।

द्विपक्षीय वार्ता पश्चात, भारतका विदेशमन्त्रीले नेपालका लागि भारतको २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोग अन्तर्गत सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु हस्तान्तरण गरिएको छ । साथै, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन पियर–टु–पियर (पीटुपी) आबद्धताको सुरुवात भएको छ । ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको दुतबासले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण हो, जसले दुई घनिष्ठ तथा मित्र छिमेकीहरुबीचको सम्बन्धलाई थप सुदृढ बनाएको दुताबासको विज्ञप्तिमा उल्लेख छ ।