कोरोनाको लक्षण देखिएकी २५ वर्षीया गर्भवतीको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • nepaltale.com

जनकपुरधाम – सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की अन्दाजी २५ वर्षीया गर्भवतीलाई सोमबार राति अत्यधिक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो ।

उनको मंगलबार बिहान करिब साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

प्रमुख यादबका अनुसार महिलालाई अचानक ज्वरो आएको र श्वास लिनमा समस्या भएपछि राजविराज स्थित एक क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

सामान्य उपचारपछि घर फर्काइएकी उनको समस्या बढेपछि मृत्यु भएको उनले बताए । कोरोना भाइरसको लक्षण देखिएकोले महिलाका स्वाब जाँचको लागि धरान पठाइएको छ ।

आफन्तलाई पीपीई दिएर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा शवलाई जलाउने निर्णय भएको प्रमुख यादवले बताए ।