जाजरकोटको दर्दनाक घटनामा संलग्न वडाअध्यक्षसहित १२ जना हिरासतमा छन् । गृहमन्त्री रामबहादुर थापाले जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा युवतीसहित उनका बुबा,आमा , वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लसहित १२ जनालाई प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो ।
किटानी जाहेरी नआएको भन्दै घटनामा संलग्न वडा अध्यक्षलाई छोडिएको भन्ने सांसदहरुको प्रश्नमा उहाँले अहिले सम्म वडा अध्यक्ष प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभयो । उहाँले घटनाको सत्य तथ्य छानविन गरि राय सहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको तथा समितिलाई दुई हप्ता भित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराउनुभयो ।
उहाँले छानविनपछि प्रतिवेदनका आधारमा दोषीलाई कडा कारवाही गरिने तथा मृतकका परिवारलाई उपलब्ध गराउने बारेमा राज्यले सोच्ने स्पष्ट पार्नुभयो । उहाँले घटनाको छानविनमा राज्यको तर्फबाट कुनै पनि राजनीतिकरण नहुने प्रतिवद्धता पनि जनाउनुभयो ।