पर्साको ठोरीमा निर्माण गरिएको खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ। भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन सकेको थिएन।
ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो ।
तर पुल सञ्चालनमा आएको एक दिन नबित्दै बिहीबार साँझ भारतबाट हतियार सहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन्।
पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ बग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो ।
आज सांझ भारतीय सुरक्षाकर्मी सहित उपस्थित भएका भारतीय पक्षले बुधवार पुरिएको कुलो भत्काउन खोजेपछि नेपालतर्फको स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको छ।
माथिको आदेश भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहिबेर भनाभन समेत भएको थियो।
ठोरी–२ का वडाध्यक्ष किशोर तामाङ, नेपाल प्रहरीका निरीक्षक अशोक साह लगायत ठूलो संख्यामा भेला भएका नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्षले माथीको आदेश भन्दै कुलो सन्चालन गर्न पाउनुपर्ने भन्दै केहिबेर झगडा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।