जाजरकोट । रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्।
मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरलाई बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’
उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ। तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए। अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ।
समितिले काम थाल्यो
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ। सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृतक सन्दीप विकको शवसमेत अवलोकन गरेको थियो। यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ।
-कान्तिपुर दैनिक