काठमाडौँमा कोरोना परीक्षणको दायरा बढाइयो

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाएको छ । काठमाडौँका फरकफरक स्थानमा कोभिड–१९ का बिरामी फेला पर्न थालेपछि महानगरले परीक्षण बढाएको हो ।

यसैबीच वडा नं १० बानेश्वर फूलचोकी मार्गका ४० जनामा गरिएको परीक्षणको नतिजा सङ्क्रमणरहित आएको जनाइएको छ । वडा नं १० का वडाध्यक्ष रामकुमार केसीका अनुसार त्यस क्षेत्रमा बस्ने एक व्यक्तिलाई यही जेठ २ गते गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि उक्त बिरामीको प्रत्यक्ष सम्पर्कमा रहनुभएका ४० जनाको यही जेठ १२ गते पिसिआर र अप्रत्यक्ष सम्पर्कमा रहनुभएका १० जनाको आरडिटी विधिबाट नमूना लिइएको थियो ।

त्यसैगरी केही दिनअघि विदेशबाट आएका एक जनामा सङ्क्रमण देखिएपछि वडा नं १६ मा कन्ट्याक्ट टे«सिङ २६ व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको छ । सोह्रखुट्टे फलफूल चोक क्षेत्रमा भेटिएका बिरामीको सम्पर्कमा रहनुभएका परिवार र आफन्तको नमूना सङ्कलन गरिएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिनुभयो । नमूना सङ्कलन गरिएका परिवार र व्यक्तिलाई आवतजावत गर्न र आफन्त वा अन्य कसैसँग भेटघाटमा रोक लगाइएको वडाध्यक्ष रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निगरानीमा राखिएका परिवारको खाद्यान्नलगायत अत्यावश्यक र दैनिक जीवनसँग सम्बन्धित काममा वडाले सहयोग गरिरहेको छ । सोह्रखुट्टेका ५९ वर्षीय सङ्क्रमित पुरुष हाल अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सामान्य रहेको पनि महानगरपालिकाले जानकारी गराएको छ ।

यसअघि महानगरपालिकाले जनप्रतिनिधि, सफाइमा काम गर्ने कर्मचारी र सिसडोलवासीको पनि परीक्षण गरिसकेको छ । पछिल्लो समय देशव्यापीरुपमा नै सङ्क्रमितको सङ्ख्या अत्यधिकरुपमा बढिरहेकाले अन्य क्षेत्रमा पनि परीक्षण बढाउने तयारी रहेको बताइएको छ ।