कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने आदेश दिएको छ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेविरुद्धका दुई अभियोग झिक्दै सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत राख्ने निर्णयसहित अदालतमा निवेदन दिएको थियो।
सोही निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउने सरकारी निर्णयलाई सदर गरेको हो।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित मुल अभियोग पत्र तथा पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दाबी कायम नरहने गरी संशोधन गरिदिएको छ।’
यससँगै रवि लामिछानेविरुद्धको मुद्दा अब सहकारी ठगीसम्बन्धी अभियोगमा मात्र अघि बढ्ने भएको छ।