रुकुम घटनामा रेखा बोलिन्, १७ वर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ?

  • प्रकाशित मिति : २०७७ जेष्ठ २१, बुधबार
  • नेपाल टेल संवाददाता

लोकप्रिय नायिका रेखा थापाले रुकुमपश्चिमको घटनाका सन्दर्भमा मुख खोलेकी छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै प्रश्न गरेकी छन्, ‘राज्यसँग लडनु पर्यो नि, एउटी १७ बर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ?’

‘रुकुम घटनाका दोषीमाथि कारवाही र पीडितलाई अबिलम्ब न्याय दिइयोस्’, यस्तो लेख्दै नायिका थापाले अगाडि थपेकी छन्, ‘यस घटनामा जोडिएकी सुषमा मल्लको बारेमा जसरी चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, त्यसले फेरि पनि उत्पीडित वर्गमाथि प्रहार भयो भन्ने लाग्छ । एउटा दलितसँग प्रेम गर्ने साहस भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ?’



नायिका थापाको प्रश्न छ, ‘दोषीलाई कानुनी कारवाही हुनुपहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइज्जत गरेर न्याय पाउने हो र ?’ छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट कसैलाई नभएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘समूहमा बाहुन, छेत्री, जनजाति जोजसलाई गाली गर्नुछ गरे हुन्छ तर एउटा केटी मान्छेको पेटीकोट समातेर विद्रोह हुन्छ ?’ नायिका थापाको गम्भीर प्रश्न छ, ‘दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा र प्रताडना दिएको कारण ती किशोरी नदीमा हाम्फालेमा कसले जवाफ दिन्छ ?’

‘दलितलाई प्रेम गरेको सट्टामा जसरी उसको चरित्रहत्या हुँदैछ, यसले जातिवादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ’, नायिका थापाको निष्कर्ष छ । राज्यसँग लड्नु पर्यो नि भन्दै उनले एउटा १७ बर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन गर्न नहुने तर्क राखेकी छन् । दोषी भएमा कानुनी कारवाही गरियोस् भन्दै थापाले थपेकी छन्, ‘यो नबिर्सौं कि एउटा किशोरीको जीवन बर्वाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैनन् ।’