चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारी रोक्न थुप्रै वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिनको खोजी तथा परीक्षणमा जुटिरहेका छन्।
यसै क्रममा मोडर्ना कम्पनीका चिफ मेडिकल अफिसर ताल जाक्सले यस कम्पनीले तयार गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण आगामी जुलाईमा सुरु हुनेतय भएको जानकारी दिएका छन्।
ठूलो संख्याका मानिसमा क्लिनिकल परीक्षण गर्दा खोपले सुरक्षित काम गर्छ भन्ने प्रमाणित भएमा २०२१ सम्म १ अर्ब भ्याक्सिन उत्पादन गरेर वितरण गरिने उनको दाबी छ।
मोडर्नाको पहिलो चरणको क्लिनिकल ट्रायल निकै उत्साहजनक रहेको थियो। यस कम्पनीले यसअघि नै विभिन्न आठवटा अन्य भाइरसको भ्याक्सिन पत्ता लगाइसकेको छ । त्यी मध्ये कतिपय स्वासप्रश्वाससँग सम्बन्धि समस्या छन् ।
मोडर्नाका प्रयासलाई सहयोग गर्नका लागि अमेरिकाको फेडेरल बायोमेडिकल एडभान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीले ४ सय ८३ मिलियन डलर दिइसकेका छन्।
अमेरिकी सरकारले भ्याक्सिन पत्ता लगाउनसक्ने सम्भावित ५ वटा कम्पनीमध्ये मोडर्नालाई पनि छनोट गरेको छ ।