स्वास्थ्यचौकीका कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पूर्ण सेवा बन्द

  • प्रकाशित मिति : २०७७ जेष्ठ २८, बुधबार
  • नेपाल टेल संवाददाता

कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ।



“सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ”, उहाँले भन्नुभयो, “नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।” सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।