कोरोना महामारी अहिल्यै समाप्त नहुने अमेरिकी विज्ञको चेतावनी

  • प्रकाशित मिति : २०७७ जेष्ठ २९, बिहीबार
  • नेपाल टेल संवाददाता

अमेरिकी एक विज्ञले कोरोना भाइरसको महामारी रोकिने संकेत नदेखिएको भन्दै यसविरुद्धको लडाइँ अहिल्यै समाप्त नहुने चेतावनी दिएका छन्।

अमेरिकाका संक्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले यस्तो चेतावनी दिएका हुन्। अमेरिकामा पछिल्लो समय लकडाउन खुकुलो बन्दै गएको र प्रहरी दमनका कारण फ्लोइड नामका अश्वेत व्यक्ति मारिएपछि देशभर आन्दोलन चर्किरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको छ।



एक भर्चअुल कन्फ्रेन्सका क्रममा फाउचीले भने, ‘चार महिने अवधिमा यसले पूरा विश्वमा विध्वंश मच्चाएको छ, ‘यो अझै समाप्त भएको छैन।’

फाउचीले एचआईभीभन्दा कोरोना भाइरस कठिन रहेको बताउँदै कोरोना भाइरसको फैलावट र यसले शरीरमा निम्त्याउने प्रभावबारे विश्व अझै अनिश्चित रहेको उल्लेख गरे।

फाउचीले कोभिड-१९ को संक्रमण फैलनबाट रोक्नका लागि भ्याक्सिन एकमात्रै उपाय हुने बताए। ‘भ्याक्सिन निर्माणमा एकभन्दा धेरै कम्पनी विजेता हुने अपेक्षा गर्छु किनकी सम्पूर्ण विश्वका लागि हामीलाई धेरै भ्याक्सिन चाहिएको छ, अर्बौ डोज,’ उनले भने।