विश्वभर कोरोना भाइरसका कारण हालसम्म ४ लाख ३५ हजारभन्दा बढी संक्रमितको ज्यान गएको छ । त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ७९ लाख ८८ हजारभन्दा बढी पुगेको छ । ४१ लाख ७ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
५४ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।
युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हिजो यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ । यस्तै इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएका छन् ।