प्रेमीकाको विषयमा साथीहरुबीच आपसमा झगडा, एक युवकको हत्या

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

मोटरसाइकल र प्रेमीकाको विषयमा साथीहरुबीच आपसमा झगडा गर्दा पोखरामा एक युवकले ज्यान गएको छ। नयाँ मोटरसाइकल किनेर साथीहरुमाझ खुशीयाली मनाइरहेका अमित रसाइलीको हत्या भएको हो।

अमितले नयाँ मोटरसाइकल किनेपछि अरु तीन जना साथीहरुलाई बोलाएर बाघमारा चौरमा पार्टी दिएका थिए। त्यही क्रममा उनीहरुबीच मोटरबाईक र गर्लफ्रेण्ड विषयमा कुराकानी शुरु गरेपछि सबै जनाले आफ्नी गर्लफ्रेण्डको बयान गर्दा गदै झगडा शुरु भएको थियो। अन्य साथीहरुले अमितलाई हेल्मेटले हानेर बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। अमित बेहोस भएपछि उनीहरुले थप ढुंगाले टाउकोमा हानेर हत्या गरी सेती खोंचमा फ्याकेका थिए।



एसपी कार्कीका अनुसार पोखरा ३२ का २१ वर्षीय अमित रसाइलीलाई उनकै साथीहरुले गर्लफ्रेण्डको विषयमा झगडा गरेर हत्या गरी फ्याकेका हुन्। प्रहरीले रसाइलीको शव आइतबार बिहान सेती खोंचमा फेला पारेको थियो।

शनिबार रातको करिब ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथीहरुलाई पार्टी दिन भनेर घरबाट हिँडेका उनी बेपत्ता भएका थिए । रसाइली हराएको भनी उनीसँगै पार्टी खाएका साथीहरुले नै आइतबार बिहान साढे तीन बजे खबर गरेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले खोजेको थियो । ‘जस्ले हत्या गर्यो उनीहरुले साथी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए’, एसपी कार्कीले भने, ‘रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गर्ने क्रममा उनकै साथीहरुले हत्या गरी सेती नदीमा फालेको खुल्यो ।’