थप ५३८ सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित सङ्ख्या १० हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ असार ९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपालमा विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ।



तीमध्ये २,२२४ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

विगत २४ घण्टामा ७६ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

के छ अरू तथ्याङ्क?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,९९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,८६,३६६ पुगेको छ।

अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ८५,८१३ जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।