सुशान्तको मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक, आत्महत्या अघि गुगलमा सर्च गरेका थिए यी कुरा

  • प्रकाशित मिति : २०७७ असार १८, बिहीबार
  • nepaltale.com

काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउड क्षेत्रमा नाताबादको विषयले निकै चार्चा पाएको छ। मुबई प्रहरी उनको आत्महत्याका विषयमा अनुसन्धान गर्न खटिरहेको छ।

सुशान्तको पोस्टमार्टम रिर्पोटपछि उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट पनि सार्वजनिक भएको छ। रिर्पोटका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए।

उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले नाम सर्च गरेपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए।

सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेका थिए। उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको अनुभुती हुने गरेको उनका नजिकका साथीले बयान दिएका छन्। पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे।