भक्तपुर, दोलखा, तनहुँमा अलपत्र सल्यानका ५ सय मजदूर घर फर्किए, ५ सय बढी आज फर्किदै

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

काठमाडौं । लकडाउनका कारण अलपत्र परेका सल्यानका ४ सय बढी मजदूरहरुलाई घर पठाइएको छ।

भक्तपुरका विभिन्न इट्टाभट्टा तथा अन्य उद्योगहरुमा काम गर्न आएका सल्यानका मजदूरहरुलाई ७ वटा गाडीको व्यवस्था गरी घरतर्फ पठाइएको हो। ७ गाडीमा घरतर्फ फर्किएकाहरुमा सल्यानको बनगाड कुपिन्डे र शारदा नगरपालिकाका गरी ४ सय बढी मजदूरहरु रहेका छन्।

लामो समय लकडाउन भएपछि भक्तपुरका सरस्वती शक्ति इट्टा उद्योग चाँगुनारायण, ब्रम्हायणी देवी फिल्स इट्टा उद्योग सुडाल लगायत अरु विभिन्न उद्योगमा काम गरिरहेका थिए। लकडाउनपछि बस्न, खानको समस्या भएर उनीहरुको अवस्था नाजुक हुँदै गएको थियो। उनीहरुलाई आवश्यक कागजात र प्रक्रिया सबै पुर्याएर राती १ बजे नै काठमाडौंबाट सल्यानतर्फ पठाइएको अनेरास्ववियूका नेता तिलकराज भण्डारीले बताउनुभयो।

काठमाडौंमा नेकपाका युवा नेता रमेश मल्लको नेतृत्व र पहलमा विद्यार्थी नेता तिलकराज भण्डारी, पत्रकार जीवन विसीलगायतले मजदूरहरुको उद्धार गरी घर फर्काउन विशेष भूमिका खेल्नुभएको थियो भने प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद गुलाबजंग शाहलगायतले समन्वयकारी भूमिका खेल्नुभएको थियो। त्यस्तै, रमेश खडका, फौद बहादुर बस्नेत, डिएसपी रञ्जितसिंह राठौर, उदयबहादुर बोहरा वीरबहादुर राउत, ब्यवसायी होम डाँगी र दिलिप ओलीलगायतले पनि समन्वयको काम गरेको विद्यार्थी नेता तिलकराज भण्डारी र पत्रकार जीवन बिसीले बताउनुभएको छ।

भक्तपुरमा सल्यानका मजदूरहरु धेरै भएको थाहा भएपछि आफूले सबैतिर फोनसम्पर्क गरेर घर पठाउन पहल गरेको नेकपाका युवा नेता तथा पूर्व विद्यार्थी नेता रमेश मल्लले बताउनुभयो।

‘भक्तपुरको स्थानीय प्रशासन, नगरपालिकाका प्रतिनिधिहरु, उद्योगका मालिक र मजदूरहरु सबैलाई फोनमार्फत् आवश्यक परामर्श गरियो, सबैको सल्लाहअनुसार पत्रकार जीवन बीसीजी केही साथीहरुसहित आफै भक्तपुर पुग्नुभयो, नेकपा नेता रमेश मल्लले भन्नुभयो, ‘जिल्ला फर्केपछि स्थानीय तहले बनाएको नियमअनुसार रहने गरी मजदूरहरुलाई घर पठाउन पहल गरिएको हो। यसमा जिल्लाका माननीयज्यूहरु र स्थानीय तहका नेतृत्वले राम्रो समन्वय गरिरहनुभएको छ।’

काठमाडौंमा अप्ठ्यारोमा परेका र घर फर्किनै पर्ने स्थितिका सल्यानीहरुलाई पठाउन पहल गरिरहेका मल्लले आज बेलुकी पनि केही गाडीहरु पठाउन लागिएको बताउनुभयो।

‘आज बेलुकी भक्तपुरबाट ४ वटा गाडी, दोलखाबाट १ गाडी, लमजुङबाट १ गाडी र दोलखाबाट आई बालाजुमा बसिरहेका ६३ जनालाई अर्को गाडीमा गरी ७ वटा गाडी आज बेलुकी जाँदैछन्, मल्लले भन्नुभयो, ‘हिजो राती भक्तपुरबाट ७ वटा गाडी सल्यानतिर गइसकेका छन्। मजदूरीका लागि आएका र अहिले बस्ने, खाने अवस्था नभएर अलपत्र भएकाहरुलाई मात्रै पठाउन पहल गरेका छौं।’

कोठा भाडामा बसेका र एकाध दिन वा एक/दुई महिना बस्न सक्नेहरुले जिल्ला फर्किन हतार नगर्न पनि मल्लले बताउनुभयो।

उसो त मल्ल र विद्यार्थी नेता तिलकराज भण्डारीको अगुवाईमा अस्ति दोलखाबाट ३५ जना र लमजुङबाट आई तनहुँमा अलपत्र २२ जनालाई गाडीको व्यवस्था गरी सल्यान पठाइएको थियो।

दोलखाबाट सल्यानका मजदूरहरुलाई फर्काउन त्यहाँका प्रतिनिधि सभा सदस्य विशाल खड्काले राम्रो भूमिका निर्वाह गरेको मल्लले बताउनुभयो।