काठमाडौं। स्याङ्जामा पहिरोमा परी तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।
मंगलबार बिहान कालीगण्डकी गाउँपालिका-४ स्थित खानेपानीको मुहान बनाउन गएकामाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
‘खानेपानीको मुहान बनाउन गएका थिए माथिबाट पहिरो खस्यो,’डिएसपी राजेन्द्र प्रसाद अधिकारीले भने,’तीन जना घाइते छन्। एक जनाको अवस्था भने गम्भीर छ।’
घाइते हुनेमा हुमानाथ पाण्डे, ईमानसिंह राणा र वीरबहादुर राणा छन्। उनीहरूको उपचारका लागि गल्याङ अस्पतालमा लगिएको डिएसपी अधिकारीले बताए।
ईमानसिंह राणाको भने अवस्था गम्भीर र अन्य दुबैको अवस्था सामान्य छ। त्यस्तै, प्रेम चन्द पाण्डे, जिमानसिंह थापा र टिका बहादुर थापा अझै बेपत्ता छन्। उनीहरू सबै त्यहीँका स्थानीय हुन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।