काठमाडौं । विश्वभर कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ६२ लाख नाघेको छ।
वल्र्डमिटरका अनुसार संक्रमितहरुमध्ये हालसम्म ९९ लाख १२ हजार ९६६ जना निको भएका छन् भने ६ लाख ३८ हजार बढिको ज्यान गएको छ।
हरेक देशमा सङ्क्रमणका घटना बढ्दै गएका छन्। इजरायलमा सङ्क्रमितको सङ्ख्या ६० हजार नाघेको छ।
शनिवार इजरायलमा मानिसहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामाको माग गर्दै जेरूशलेम लगायत देशका धेरै शहरहरूमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री नेतन्याहु कोरोना रोक्न असफल भएको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्।
गत हप्तादेखि इजरायलमा नेतन्याहूको विरुद्ध प्रदर्शन भइरहेको छ।
उनीमाथि कोरोना सम्बन्धी काममा भ्रष्टाचार भएको आरोप लगाइएको छ। त्यहाँ सङ्क्रमणबाट बच्न लकडाउन आदेश जार गर्दा लाखौले रोजगारी गुमाएका छन्।
मानिसहरूले सरकारलाई लकडाउन हटाउनको लागि पनि माग गरिरहेका छन्।
हरेक हप्ता १० लाख सङ्क्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार विश्वमा हरेक हप्तामा १० लाख भन्दा बढी घटनाहरू थपिदै गएको जनाएको छ।
२४ जुलाईमा २ लाख ८० हजार घटनाहरू एकै दिन फेला परेका थिए।
डब्लूएचओका अनुसार विश्वका अधिकांश देशहरू कोरोनाबाट प्रभावित छन्।
तर, धेरै जनसंख्या भएका देशहरूले बढी दुःख भोगेका छन्।
ब्राजिल र भारतमा एकै दिनमा ठूलो सङ्ख्यामा घटनाहरू बढ्दै गएका छन्।
अमेरिकामा पनि बढ्दै गरेको मामलाहरू पनि चिन्ताको विषय छ।