काठमाडौं । आरबी लाईपेजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको खेलमा एट्लेटिको माथि २–१ को जित निकाल्दै लाईपेजिग सेमिफाइनल प्रवेश गरेको हो । लाईपेजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।
क्लब स्थापनाको ११ बर्षमा पहिलोपटक लाइपेजिगले यो सफलता हासिल गरेको हो ।
जर्मन क्लब लाइपेजिगका लागि ड्यानियल ओल्मोले हेडमार्फत पहिलो गोल गरेका थिए । एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल सकिन २ मिनेट मात्रै बाँकी रहँदा टायलर एडम्सले गोल गर्दै लाइपेजिगलाई जीत दिलाएका थिए ।
एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो । तर जर्मन क्लबसंग पराजित हुदै स्पेनिस महारथी क्लब अन्तिम ८ बाट बाहिरिएको छ ।
लाइपेजिगले अब सेमिफाईनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग प्रतिस्पर्धा गर्नेछ ।