म्यासेन्जरको च्याट अब स्वतः डिलिट हुने, यसरी गर्नुहोस् प्रयोग

  • प्रकाशित मिति : २०७७ मंसिर २०, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। पछिल्लो समय प्रविधिको प्रयोग जति व्यापक बनेको छ, व्यक्तिगत गोपनीयताप्रति मानिसहरुको संवेदनशीलता पनि त्यति नै बढेको छ । जसका कारण म्यासेजिङ एपहरुले सेक्रेट कन्भर्सेसनको फिचरलाई अनिवार्य जस्तै बनाउन थालेका छन् ।

म्यासेन्जर, टेलिग्राम, ह्वाट्सएप जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एपमा इण्ड-टु-इण्ड इन्क्रिप्सन हुन्छ, जसले च्याटलाई सुरक्षा प्रदान गर्छ । फेसबुकले पनि आफ्नो म्यासेन्जर एपमा नयाँ सेक्रेट कन्भर्सेसन फिचर ल्याएको छ । यो फिचर प्रयोग गर्दा कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ ।



म्यासेज स्वतः डिलिट हुने यस किसिमको फिचर टेलिग्राममा यसअघि नै आइसकेको थियो ।

तर प्रयोगकर्ताले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न पाउँदैनन् । सेक्रेट कन्भर्सेसन भित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् ।

यस किसिमको मेटिने म्यासेज पठाउन प्रयोगकर्ताले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनु पर्नेछ ।

जसका लागि सबैभन्दा पहिले गुगल प्ले वा एप स्टोरमा गएर त्यहाँबाट म्यासेन्जर एपलाई अपडेट गर्ने वा एपलाई अटो अपडेटमा राख्नुपर्छ ।

म्यासेन्जरमा गएर अब च्याट गर्ने साथीको नाम सर्च गरेर च्याटबक्समा जानुहोस् । स्मार्टफोनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेको अप्सनमा क्लिक गर्नुहोस् र ‘गो टु सेक्रेट कन्भर्सेसन’अप्सनलाई चयन गर्नुहोस् ।

एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् । टाइप गर्ने ठाउँमा ‘टाइमर’सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट होस् (हटोस्) भन्ने चाहनुहुन्छ, त्यो सेट गर्नुहोस् । अब तपाईंले सेट गरेको समयभित्र जुनसुकै म्यासेज पनि हराएर गएको पाउनुहुनेछ ।