“परदेशी जीवनको संघर्ष र आशा” – भवेश जमरकट्टेल

  • प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार
  • भवेश जमरकट्टेल

समय सान्दर्भिक छ।
हिजो मैले सिकेका साना तिना कुराहरू,
आज यथार्थमा घुल्दै, बढ्दै छन्।
“समय आउँछ, धैर्य गर” भन्थे,
हो रहेछ साँच्चै, आज मन आनन्दित छ।
पहिला सुरुमा यो नयाँ, नविन ठाउँ आउँदा,
मन आतिएको थियो, डर लागेको थियो।
तर समयको चालले धेरै सीप सिकायो,
आफूमा जिम्मेवारी छ भन्ने शब्दको पाठ पढायो।
यही रहेछ जिन्दगी,
ढिलो छिटो जे भए पनि,
मार्ग चाहिँ आफैँ लेखिँदो रहेछ।”
“परदेशी बनेको पनि करिब दुई वर्ष, सात महिना बितिसक्यो,
धेरै दुःख भोग्दै, लड्दै, उठ्दै, अगाडि बढेको छु।
सुरुवाती दिनहरू कति कठिन थिए, शब्दले नै धान्दैन,
हरेक मोडमा परीक्षा थियो, मनलाई बलियो बनाइरहन्थ्यो समय।
समयको चाल हो कि नयाँ वातावरणको पाठ,
नयाँ सीप सिकेँ, नयाँ सोच जोड्दै गएँ साथ।
विविध कारणले धेरै कोठा सर्नु पर्‍यो,
कहिले बसेकै घरमा आगलागी भयो, सबै हराएजस्तो लाग्यो।
कहिले परीक्षामा असफल भएँ,
कहिले नचाहिँदो कुरामा कसैसँग भनाभन भएँ।
मान्छेको मानवता देखेँ, कहिले उज्यालो, कहिले छायाँ,
हिँड्दै जाँदा धेरै कुरा बुझ्दै गएँ, म नै मेरो सहारा।
अब चाहिँ लाग्छ, दुःखको घडी अन्त्यतिर छ,
सफलतामा मन अड्याउँदै, आशाको बाटोमा म अगाडि छु।
भन्छन् नि, कहिलेकाहीँ किताबका पाना मात्र होइन,
“किताब नै बदल्नुपर्छ,” हो, मैले त्यही गरेँ।
साथ दिने ती महान हातहरूप्रति म कृतज्ञ छु,
जहाँ सम्भव भयो, मैले पनि धेरै नेपालीलाई सहयोग गरेँ।
तर सत्य यही हो, कहिलेकाहीँ आफ्नै खुट्टामा आफैंले ठेस लाग्यो,
कतिपय अनौठा अनुहारसँग मौन बसेँ, सम्बन्धको अध्याय बन्द भयो।
परिवारको आशलाई उच्च स्थान दिने निर्णय गरेँ,
जे सोचेर हिँडेँ, त्यही बाटो समातेर मैले आफूलाई पनि थामेँ।
कहिले तल, कहिले माथि, यही उतार चढावमा सीप सिकेँ,
आज पनि निरन्तर नयाँ सीप सिक्ने धारमै छु, म अझै बढ्दैछु।
सबैलाई नमन, यही हो परदेशीको पीडापछिको सुख,
परिवार भन्छ, “दुःखमा नआत्तिनु, सुखमा नमातिनु,” यही हो जीवनको मुख।
प्रतीक्षाको फल मिठो हुन्छ भन्थे,
अवश्य रहेछ, आज यो कुरा म आफैंले देखेँ।
यही हो भोगाइ, परदेशीको चोट, संघर्ष, र छुटकाराको कथा,
दुःखले लेखेको यात्रामा, आशाले बनाएको नयाँ पथको व्यथा।”