आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको ज्यान जोगाउने यूकेका वैज्ञानिकले पत्ता लगाएका छन्।
डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत गरेको छ।कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँच मध्ये एक बिरामी जोगाउने भनिएको छ।
कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो। अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।
यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड–१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।
पुरानो औषधि
मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन। पुरानो र सस्तो खालको स्टेरोइड हो। नेपालमा यो औषधि सजिलै र करिब ३० पैसामा पाइने स्वास्थ्यकर्मी बताउँछन्।
स्वास्थ्यकर्मी भन्छन्, यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ।
डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।