काठमाडाैं । जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ। जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ।
जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र कमनवेल्थ सैनिक मारिएको बताइन्छ। जापानका सैनिक र नागरिक गरी २५ लाखभन्दा बढी व्यक्ति मारिएको अनुमान गरिन्छ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोको एक विवादास्पद युद्ध स्मारकमा चढाउन भेट पठाए पनि उनी त्यहाँ उपस्थित भएनन्। तर उनका दुई मन्त्रीहरू भने यासुकुनी स्मारकमा पुगे जसले चीन र दक्षिण कोरियालाई आक्रोशित बनाउने सम्भावना छ।
चीन र दक्षिण कोरियाले सो स्मारकलाई जापानको सैन्य दमनको प्रतीक मान्छन्। त्यहाँ युद्धपछि विजेता शक्तिले युद्ध अपराधी प्रमाणित गरेका १४ जापानी नेताहरूको स्मारक छ। सन् १९४५ अगस्ट १५ का दिन जापानी सम्राट हिरोहितोले राष्ट्रको नाममा सम्बोधन गर्दै युद्ध समाप्त भएको घोषणा गरेका थिए।
जापानले आधिकारिक रूपमा आत्मसमर्पणको दस्तावेजमा सेप्टेम्बर २ तारिखमा हस्ताक्षर गरेको थियो। युरोपमा चार महिना अगाडि मे ८ तारिखमा जर्मनीले आत्मसमर्पण गरेपछि विजय दिवस मनाइसकिएको थियो तर एशियामा त्यसपछि पनि यु्द्ध जारी रहेको थियो।
अमेरिकाले हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ तारिखमा दिन परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो। बमले २००,००० भन्दा बढी मानिसहरू मरेको मानिन्छ।
-बीबीसी