परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा सचिव जोन हिली तथा भेट्रान्स र जनशक्ति मन्त्री लुइस सान्धर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्य रूपमा बेलायती गोर्खाका लामो समयदेखि समाधान हुन नसकेका गुनासा, विशेषगरी समानुपातिक पेन्सनको मागबारे छलफल भएको थियो ।
बैठकमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको गुनासाको छिटोभन्दा छिटो आपसी सहमतिमा समाधान खोजिनुपर्नेमा जोड दिएका थिए । उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषय सम्बोधन गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए ।
जोन हिलीको तर्फबाट भेट्रान्स तथा जनशक्ति मन्त्री लुइस सान्धर–जोन्सले बेलायती गोर्खा पूर्वसैनिकका मुद्दा समाधानका लागि नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए । बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा बेलायती रक्षा मन्त्रालयका अधिकारीहरू सहभागी भएका थिए । साथै बेलायती गोर्खा संगठनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
यसअघि मन्त्री खनालले बेलायतस्थित बेलायती गोर्खा पूर्वसैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तरक्रिया गरेका थिए ।