निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताका तस्बिरमा कमेन्टको ओइरो

  • प्रकाशित मिति : २०७७ श्रावण ३२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताको प्रोफाइल पिक्चरमा युवाहरूले कमेन्ट गर्न थालेका छन्।

आइतबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताका प्रोफाइल पिक्चरमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्न थालिएको हो।



यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन् २०१६मा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको हो। प्रधानमन्त्री ओलीको तस्बिरमा मात्रै दुई लाखभन्दा बढी कमेन्ट भइसकेका छन्। जसमा धेरैजसो निर्मलाकै न्यायका लागि माग गरिएको छ।

त्यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापालगायतका तस्बिरहरूमा पनि त्यसैगरी कमेन्ट गर्न थालिएको छ। नेपाल प्रहरी तथा केही मिडियाका तस्बिरहरूमा समेत त्यसरी कमेन्ट गरिएको छ।

केही समयअघि भारतमा ‘विनोद’ भन्दै कमेन्ट गर्ने ट्रेन्ड चलेको थियो। त्यसैगरी अहिले निर्मलाको लागि न्यायको माग पनि ट्रेन्डमा ल्याउने भन्दै कमेन्ट गर्न सुरू गरिएको देखिन्छ।

यो अभियान कसले चलाएको हो भन्ने प्रष्ट भइसकेको छैन।

२०७५ साउन ११ गते भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको शव फेला परेको थियो।

उनको बलात्कारपछि हत्या गर्ने को हुन् भन्ने अहिलेसम्म खुलेको छैन। राष्ट्रिय स्तरमा लामो समयसम्म चर्चामा रहेको निर्मला हत्या-बलात्कार प्रकरणको अनुसन्धान अझै सकिएको छैन।