चीनले लिपुलेकमा सेना थपेपछि नयाँ दिल्लीमा तरङ्ग

  • प्रकाशित मिति : २०७७ भाद्र ४, बिहीबार
  • nepaltale.com

काठमाडौं । नेपाल र भारतबीच विवाद चलिरहेको नेपाली भूभाग लिपुलेक पासमा चीनले जनमुक्ति सेनाको संख्या थप गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

लिपुलेक क्षेत्रमा चीनले जनमुक्ति सेनाको ब्रिगेडनै तैनाथ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

स्रोतको हवाला दिँदै आजतकले लिपुलेक पासमा चीनले पछिल्लो समय १५० लाइट कम्बाइन्ड आर्म्र्स ब्रिगेड तैनाथ पारेको जनाएको छ।

लिपुलेक पास नजिकै केही सैनिक तैनाथ गरेको चीनले अचानक सैनिकको तैनाथी बढाएर १५० लाइट कम्बाइन्ड आर्म्र्स ब्रिगेडको तैनाथी गरेको गरेको हो।

रिपोर्टका अनुसार यो ब्रिगेडलाई तिब्बतबाट चीनको लिपुलेक ट्राइजंक्सनतर्फ तैनाथ गरिएको छ।

चिनियाँ यी सैनिकलाई सीमाबाट लगभग १० किलोमिटर पर तैनाथ गरिएको छ। चीनले यसअघि जुलाई महिनामा पनि लगभग १ हजार सैनिक उक्त क्षेत्रमा थप गरेको थियो।

चिनियाँ जनमुक्ति सेनाको एक चौकी नै बनाइएको छ। स्रोतका अनुसार १५ दिन पहिला चीनले २ हजार बढि अतिरिक्त सैनिक यो क्षेत्रमा तैनाथ गरेको हो।

लिपुलेक ताल नजिकै १७ हजार फिटको उचाइमा भारतले सडक निर्माण गरेपछि नयाँ दिल्ली र काठमाडौंको बीचमा तनाव पैदा भएको थियो ।

यो क्षेत्र नेपालको सीमाभित्र पर्ने र भारतले अतिक्रमण गरेको भन्दै नेपालले यस क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ। नेपालले यी क्षेत्र आफ्नो नक्सामा समेटेर परिमार्जित नक्सा जारी गरिसकेको छ।

चीनसँग पूर्वी लद्दाखमा टकराव भइहँदा लिपुलेक क्षेत्रमा चीनले सेना थप गरेको भारतीय मिडियाले जनाएका छन्।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा भारत र चीन आमने सामने छन्। दुई देशका सेनाबीच पछिल्लो ३ महिनायता सीमा क्षेत्रमा तनाव रहेको छ।

भारत र चीन बीचको सीमा तनाव कम गर्न विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ता भइरहेपनि चिनियाँ पक्ष आक्रामक बन्दै गइरहेको र मुद्धाहरु समाधान हुन नसकेको भारतीय पक्षको आरोप छ।

चीनले पूर्वी लद्दाखमा आफ्नो सेनालाई पछि हटाउने प्रतिबद्धतामा पनि पुरा नगरेकोले चिनियाँ विस्तारित नीतिका विरुद्ध भारतले पनि आफ्ना सेनालाई सिमानामा पूर्णतया तैनाथ हुन निर्देशन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।