काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण गत चैतमा लकडाउन जारी गरिएपछि अधिकांश मानिसले काठमाडौं उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने व्यवसायीहरुको भनाइ छ ।
कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौंमा रहेकाले ढिलो गरी मात्रै टिकट बिक्री खुला गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ ।
विगतमा जस्तो नभएपनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उनी बताउँछन् ।
दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढे भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वारको भनाइ छ ।
आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने व्यवसायीहरुको भनाइ छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको महासंघका महासचिव सरोज सिटौल बताउँछन् ।
चाडवाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ गते व्यवसायीसँग बैठकको आयोजना गरेको छ ।
अग्रिम टिक बुकिङm कोरोना भाइरसबाट सुरक्षा हुने सुरक्षा मापदण्ड लगायतका विषयमा छलफल गर्न व्यवसायीलाई बोलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।