कोरोनाको खोप सर्वसाधारणमा लैजान डब्लूएचओले चीनलाई अनुमति दियो

  • प्रकाशित मिति : 2020-09-26
  • nepaltale.com

एजेन्सी। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ मिडियाका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोप बारे हालै जानकारी गराएको बताएका थिए । यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लूएचओमा दर्ता गरिसकेको छ । जुन पश्चिमा देशका विज्ञहरुले थुप्रै आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।