किन भाँडियो सरकार र डा केसी पक्षबीच हुनै लागेको सहमति ?

  • प्रकाशित मिति : २०७७ आश्विन २४, शनिबार
  • nepaltale.com

काठमाडौं । १९ औं चरणको आमरण अनसनमा रहेका डा गोविन्द केसीका मागबारे शुक्रबार अबेर राति शुरु भएको वार्ता विना कुनै निष्कर्ष सकिएको छ ।

शुक्रबार दिउँसोसम्म वार्तामा नबोलाएको सरकारी वार्ता टोलीले राति ९ बजे केसी पक्षको वार्ता टोलीलाई छलफलका लागि सिंहदरबार बोलाएको थियो ।

डा गोविन्द केसी पक्षबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले सरकारी वार्ता टोलीले अडान नछाड्दा सहमति हुन नसकेको बताएका छन् ।

सरकारबाट वार्ताका नाममा अल्झाउने काम मात्रै भएको डा क्षेत्रीको भनाइ छ ।

डा केसीका तर्फबाट वार्तामा सहभागी अर्का एक सदस्यका अनुसार सरकारी वार्ता टोली बिहीबार भएको सहमतिबाट पनि पछि हटेको छ ।

बिहीबारको वार्तामा डा केसीले उठाएका मागहरु बुँदागत रुपमा पूरा गर्ने गरी सहमती गर्ने समझदारी बनेको थियो । जसअनुसार सहमतिका लागि पहिलो मस्यौदा पनि बनेको थियो ।

तर, शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष बिहीबारको समझदारीबाट पनि पछि हटेको केसी पक्षबाट वार्तामा सहभागी भएका सदस्यहरुको भनाइ छ ।

वरिष्ठता मिचेर त्रिभुवन विश्वाविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्त गरिएकी डा विद्या सिंहको नियुक्ति खारेजी गर्नुपर्ने मागमा सरकारी पक्षले पुन: असहमति जनाएको केसी पक्षधर वार्ता टोलीका सदस्यको भनाइ छ ।

बिहीबारको वार्ताका क्रममा वरिष्ठता मिचेर भएका नियुक्तिको सन्दर्भमा पुनर्विचार गर्ने विषयमा सरकारी टोली लगभग सहमत भएको थियो । डा सिंहको सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर मात्रै जवाफ दिने सरकारी वार्ता टोलीका सदस्यको भनाइ थियो ।

तर, शुक्रबार डा. सिंहको नियुक्ति खारेजी गर्ने विषय तत्काल कार्यान्वयन हुन नसक्ने अडान सरकारी टोलीले राखेको हो ।  त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन डा सिंह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन् ।

यस्तै, बिहीबारको छलफल पछि तयार पारिएको सहमतिको मस्यौदामा सरकारी पक्षबाट केही संशोधन भएपछि पनि वार्ता भाँडिएको जनाइएको छ ।