धनगढी । कैलालीको धनगढी–अत्तरीया ६ लेन सडकखण्डमा सोमबार (दशैंको टीका)को दिन राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से १ प ८६७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकको पश्चिम किनारामा रोकी राखेको म १ ख ६१७ नम्बरको मिनी ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।
दुर्घटना पछि सडकमा छट्पटाइरहेको अवस्थामा फेला पारेर प्रहरीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको हुलिया सार्वजनिक गर्दै प्रहरीले उनको पहिचानमा सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।
प्रहरीले उल्लेख गरेअनुसार मृतक युवक अन्दाजी २०/२२ वर्षका छन् । उचाइ ५ फिट ७ इन्च छ भने शरीर पातलो छ । यस्तै, लामो कपाल पालेको, हातमा चाँदीको बाला जस्तो लगाएको, तल्लो शरीरमा निलो ट्राउजुर र माथिल्लो शरीरमा खरानी रंगको हुक र खैरो जुत्ता लगाएको छ ।
मृतक व्यक्तिको पहिचान नखुलेका कारण उनको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।