डोटीमा प्रहरी कर्मचारीबाटै १५ वर्षीया बालिका बलात्कृत

  • प्रकाशित मिति : २०७७ कार्तिक १८, मंगलवार
  • नेपाल टेल संवाददाता

डोटी । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ ।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्धा चल्ने भएको छ ।



प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्धा दर्ता भएको हो ।

प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्यान जान सक्ने खतरा थियो ।

पीडित बालिकाका पिताले भने, ‘सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल)ले रुखमा झुण्डाएको अवस्थामा भेटेँ । हतारहतार गएर दोपट्टा काटेर बचायौँ ।’

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको होस आएपछि आज (सोमबार) बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ । ‘नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भने, ‘हामीले छिटो न्याय पाउनुपर्छ । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

बालिकाको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, ‘बालिकाको घाटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।’

निज प्रहरी जवानले बालिकालाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् । रासस