वासिंगटन । अमेरिकी राष्ट्रपति चुनावको पूर्ण नतिजा नआउँदै राष्ट्रपतिका उम्मेद्धवार डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै चुनाव जितेको दाबी गरेका छन्।
मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’
राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा विपक्षीले धाँधलीको प्रयास गरेको आरोप पनि लगाएका छन्।
मतगणना जारी रहेको राष्ट्रपतीय चुनावका विषयमा विपक्षीले धाँधली गरेको भन्दै आफू सर्वोच्च अदालत जाने ट्रम्पले बताए।
ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन।
‘यो अमेरिकी जनतामाथिको ठगी हो, हाम्रो देशका लागि लज्जाको विषय हो,’ उनले भने। उनले धाँदलीको प्रमाण भने दिएनन्।
अहिले पनि केहीले भोट हालिरहेको आरोप लगाउँदै ट्रम्पले त्यो रोकिनुपर्ने बताएका हुन।
चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। ट्रम्प र डेमोक्र्याटिक उम्मेद्वारबीच अहिले पनि कडा टक्कर छ भने पेन्सिलभेनियालगायत केही ठूला राज्यमा मतगणना भइरहेको छ।