सोलुखुम्बु हत्याकाण्ड : छिमेकीसँग भागेपछि पत्नीको हत्या

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। छिमेकीसँग विवाह गरेर भागेको रिसमा सोलुखुम्बुमा पूर्वपतिले पत्नीको हत्या गरेका छन् । पत्नीको हत्या आरोपमा सोताङ गाउँपालिका–३ का २९ वर्षीय होमबहादुर राईलाई प्रहरीले पक्रेको छ ।

राईले आफ्नो भाइ पर्ने छिमेकीसँग भागेको थाहा पाएपछि २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।



दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना अघिदेखि माइत बस्दै आएकी थिइन् । माइतमा रहेकी सोमालाई भाउजु भन्दै आएका नन्दराज राईले गत वैशाखमा विवाह गरेर भगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्ने होमबहादुर राई र नन्द राज राई छिमेकी हुन् ।

आफ्नो श्रीमतीलाई भगाएको थाहा पाएपछि रिसले नन्दराजकै घरमा पुगेर होमबहादुरले १९ कात्तिकमा सोमामाथि खुकरी प्रहार गरेको दर्नालले बताए । मृतककी एक छोरी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज होम बहादुरलाई जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।