एजेन्सी। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामान्य अवस्थामा पराजित उम्मेदवारले हार स्वीकार गर्ने गर्छन् तर डोनल्ड ट्रम्पले विभिन्न मोर्चामा निर्वाचनको परिणामलाई चुनौती दिने बताएका छन्।
पेन्सिल्भेनियाको मतगणना परिणामप्रति प्रतिक्रिया जनाउँदै उनको चुनावी अभियान टोलीले एक विज्ञप्ती निकालेको छ। विज्ञप्तीमा भनिएको छ, ” यो निर्वाचन अझै समाप्त भएको छैन। जो बाइडन विजयी भए भन्ने गलत प्रक्षेपण चारवटा राज्यको मतगणनामा आधारित छ जुन अन्तिम भैसकेको छैन।”
जोर्जियामा पुनः मतगणना हुनेछ जहाँ दुई उम्मेदवार बीचको मतान्तर निकै कम छ र विस्कन्सिनमा पनि त्यसै होस् भन्ने ट्रम्प चाहन्छन्। उनले निर्वाचनमा धाँधली भएको भन्दै कानुनी चुनौतीलाई सर्वोच्च अदालतसम्म लैजाने बताएका छन् तर धाँधलीका बारेमा कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन्।
परिणामलाई कानुनी चुनौती दिने हो भने उम्मेदवारहरूका कानुनी टोलीले राज्यका अदालतहरूमा त्यसो गर्नुपर्छ। त्यस्तो मुद्दालाई राज्यका न्यायाधिशहतर रूले ग्रहण गरेर पुनः मतगणना गराउनु पर्छ। त्यसपछि मात्रै फैसलाका लागि सर्वोच्च अदालत समक्ष आग्रह गर्न सकिन्छ।यसैबीच केही राज्यहरूमा मतगणना जारी नै रहेको छ।
अन्तिम प्रमाण पत्र हासिल नहुन्जेलसम्म मतगणना परिणामलाई आधिकारीक मानिँदैन। निर्वाचन सकिएको केही हप्तापछि मात्रै राज्यहरूले त्यस्तो प्रमाणपत्र जारी गर्ने गर्छन्।
डिसेम्बर १४मा प्रत्येक राज्यमा इलेक्टरल कलेजका इलेक्टरहरूले राज्यको मत परिणाम अनुसार राष्ट्रपति चयन गर्ने कार्यमा मतदान गर्न भेला हुनु अघि नै त्यस्तो प्रकृया सम्पन्न भइसक्नु पर्छ।
इलेक्टरहरूले गर्ने मतदान तिनका सम्बन्धित राज्यमा भएको प्रत्यक्ष मतदानको नतिजा अनुसार नै हुन्छ।तर केही राज्यहरूमा त्यस्तो हुनै पर्छ भन्ने औपचारिक आवश्यकता भने छैन।
ज्यानुअरी २० तारिखका दिन नयाँ राष्ट्रपतिले पदको सपथ ग्रहण गर्नेछन्। संक्रमणकालीन समयमा राष्ट्रपति-निर्वाचितले क्याबिनेट मन्त्रीहरू नियुक्त गर्ने र आफ्ना भावी योजनाहरू बनाउने गर्दछन्।
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्कर भन्छन् अब जो बाइडनले आफ्नो नयाँ प्रशासन गठन गर्ने योजना बनाउने गाह्रो कामको थालनी गर्नसक्नेछन्।
क्याबिनेट चयन गर्न , नीतिगत प्राथमिकताहरू निर्धारण गर्न अनि थुप्रै संकट बेहोरिरहेको र पार्टीगत हिसाबले गहिरोसँग विभाजित देशमा शासन गर्ने तयारीकालागि उनीसँग लगभग तीनमहिना जतिको समय हुनेछ।
बीबीसी