“म र मेरो बाल्यपनको तिहार”

  • प्रकाशित मिति : २०७७ कार्तिक ३०, आईतवार
  • जयन्द्र जलन चापागाईं

चाडपर्व भन्ने बितिक्कै उत्साह उमंग बाल मष्तिष्कमा अाउनु स्वाभाविक हो। कसरी खर्चले पुर्‍याउने ?कसरी पाउनाहरुलाई फर्सीयाउने हो भन्ने कुरा त अामाबुबा को मनमा मात्र हुदो रहेछ! हुन पनि हो बिचरा बच्चाहरूलाई के थाहाहोस त ! उमेर नै त्यस्तै हो चकचके चनचले।

मेरो जन्म तेह्रथुम जिल्लाको ईवा हालको अाठराई गाउँपालिकामा भएको हो । पहाडमा जन्मेको मेरो बाल्यकाल पनि पहाडमा नै बित्यो। समय संगै हरेक चाडपर्व पनि स-सगै बित्दै गए । जब म बुझ्ने भए मलाई किन हो किन दसैंले भन्दा तिहारले मनलाई तानिरहेको महसुस हुन्थ्यो । सायद दशैमा छोराहरुले टिका लगाएर पैसा नपाइने मात्र अाशिस पाईने भएर हो की?अन्य कुनै कारणले हो ! बरु तिहार अाएपछि त देउसी खेलेर भएपनि केहिन केहि पैसा कमाइन्छ भन्ने कलिलो सोचले गर्दा हो तिहार नै औधी प्यारो लाग्थ्यो । दसैंको टिका सकिए पछि म अब कति दिनमा तिहार अाउला भन्दै भित्तामा झुन्डियाएको पात्रो हेर्दै दिन गन्थे । मनमनै अोहो! अब यति दिन बाँकी रहेछ भन्दै बिगतका वर्षमा गरेको रमाइलो सम्झदै अाफ्नै संसारमा रमाइ रहेको हुन्थे।
तर दु: ख लाग्दो कुरा चै के हुन्थ्यो भने दसैंको पुर्णिमा पछि र काग तिहार अघि स्कुल लाग्थ्यो । पढ्ने कुरामा दु:ख भन्दा पनि यस्तो चाडपर्वको बेला के स्कुल लगाइ रहेको होला भन्ने मनमनै लाग्थ्यो । स्कुल नजाउन त भन्दा जुन
स्कुलमा म पढ्थे “जलेश्वरी ईङ्लिस स्कुल ” त्यस स्कुलको व्यवस्थापन समितिमा मेरै बाबा हुनुहुन्थ्यो ।

स्कुल नगई त धरै थिएन । अब स्कुल जानु अघिल्लो दिन दसैं अघिबाट नछोएको किताब कापी खोज्दै झोलामा हाल्थे।उमेरले त्यसै सानुमान्छे लुगा चै जहिलै दिदीहरु( शिला , पुष्पा) र ममीले नै धोईदिने गर्नुहुन्थ्यो । त्यो बिचको १० दिनको स्कुलको पढाइ मलाई चै खासै प्रभावकारी लाग्दैन थियो । स्कुल पुग्न घरबाट पैदल १० मिनेट लाग्थ्यो । सवारी साधनको त पहाडमा कुरै भएन। मन मष्तिष्कमा तिहारको रमझम ले गर्दा स्कुल जान मन नभएर होला त्यो १० मिनेट पनि ३० मिनेट झै लाग्थ्यो । अाखिर समयलाई त कसले पो रोक्न सक्ने स्कुल नै लगाए पनि तिहार अाएरै छोड्थ्यो ।

तिहार अाइन जेलमा हाम्रो देउसी खेल्ने टिम पनि तयार भइसक्थ्यो। सबै वर्ष सधै एउटै टिम भन्ने चै हुदैन थियो । मलाई अझै झलझली याद छ हाम्रो टिम ! टिममा कुनै वर्ष भिम उप्रेती दाई , राजु उप्रेती दाई ,साथि जीवन उप्रेती र म हुन्थ्यौ भने कुनै वर्ष साथि पवन उप्रेती , सोभित ईङ्नाम , अभि पराजुली , जीवन लगाएतका साथीभाईहरु हुन्थ्यौ । अन्य साथीहरूको यहाँ नाम छुट्न गए क्षमा प्राथी छु ।
केटाकेटी अवस्थामा रमाइलो गर्न हिडेको भनेता पनि ध्यान चै धेरै पैसा जम्मा गर्नुपर्छ भन्नेमा नै हुन्थ्यो । त्यसैले पनि प्रायः हाम्रो टिममा ५/६ जना मात्र हुन्थ्यौ।
जति थोरै भैयो त्यति नै अाफ्नो भागमा पैसा बढी हुन्छ भन्ने मनस्थिति थियो। राती देउसी हिड्ने भनी टर्स लाईट अनि एउटा टेक्ने लौरोको जोरजाम पनि सबैले गरिन्थ्यो ।

लक्ष्मी पूजा धुमधाम संग गरेपछि हाम्रो टिम देउसी खेल्न भनि निस्कन्थ्यो । सानै देखि सबै सँग बोल्न रुचाउने , बोल्न नडराउने , तिखो सोर भएर‌ै होला भिम दाई , राजू दाई र अन्य साथीहरूले पनि देउसी भट्याउने काममा मलाई नै अगाडि सार्नु हुन्थ्यो । मलाई पनि अलेली भट्याउन अाउने हुँदा प्राय जहिल्यै भटियाउनेमा म नै हुन्थे ।

देउसी खेल्ने क्रममा अनेकौं उटपट्याङ गर्दै प्रायः सबै घरमा देउसी खेल्न भ्याउथ्यौ । कस‌ैका बारीका सुन्तला त कसैका उखु चोर्दै खान पनि पछि हटिएन । मलाई अझै याद छ साथी पवनले एउटा घरमा लगभग अाधा घण्टा भट्याउदा पनि घरमा मान्छे हुँदाहुदै पनि भित्रबाट कोही ननिष्के पछि ढोकामा झुन्डियाएको चाबी मलखाडीमा मिल्काई दिएको थियो । देउसी खेल्दै जाँदा बाटोमा खोर्सानी बम , अालु बम पडकाउदै दशैमा हालेर छाडेको लिङ्गे पिङ खेल्दै हिड्थ्यौ । जब कसैकोमा सेलरोटी पकाई रहेको देखिन्थ्यो अनि म भ्याउने श‌‌ैली मै ” अाखुम बाखुम सेल रोटी चाखुम” भन्थे नभन्दै कति घरमा सेल रोटी चाख्न पनि पाईन्थ्यो । लगातार देउसी खेल्ने क्रम जारी नै हुन्थ्यो ।
भट्याउदा भट्याउदै स्वर पुरै बसिसकेको हुन्थ्यो ।

सुकेका मकैका दाना खाँदा स्वर खुल्छ भन्ने सुनेका थियौ। त्यसैले बेलाबेला मकैका दाना खाने पनि गर्थियौ । भाईटिकाको दिन बिहान एउटा गाउँमा भ्याएर टिका लगाउन अाफ्नो अाफ्नो घर जान्थिम अनी फेरी केही समय पछि पुन. हाम्रो टिम खडा भइहाल्थ्यो । निधारमा सप्तरङ्गी टिका गलामा मखमली र सयपत्री फूलका माला लगाएर देउसी भटियाउदै देउसीरे देउसीरे भन्नु को छुट्टै मज्जा हुन्थ्यो । भाईटिका को राति ९/१० बजे सम्म खेलेपछी जम्मा भएको पौसा बाडिन्थ्यो । सबैले हातहातमा पैसा समाए पछि एक अर्काको मुखमा हेर्दै मुसुक्क हाँस्दै गोजीमा पैसा हाल्थ्यौ। तिहार अलिक दिन रहिरहोस झैं लाग्थ्यो तर समय कहाँ रोकिन्थ्यो र।

तिहार सकिएको १०-१५ दिन पछि छातेढुङ्गामा रहेको पोखरी मा. वि मा हरेक वर्ष मनद मेला लाग्थ्यो । उक्त पैसा मेलामा खर्च गर्नुपर्छ भनेर म चै जोगाएर राख्थे । यी माथी उल्लेखित तिहारमा रमाइला गतिविधि अहिले सम्झदा “कहाँ अाउछर घुमेर बालपनको उमेर ” भन्ने गीत अत्यन्त मार्मिक रहेछ भन्ने लाग्छ ।