काठमाडौंपछि झापामा राजतन्त्रको पक्षमा भब्य प्रदर्शनको तयारी

  • प्रकाशित मिति : २०७७ मंसिर १९, शुक्रबार
  • nepaltale.com

झापा । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न झापामा र्‍यालीको आयोजना गरिने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएको हो । झापामा हुने कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी छ ।

झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण,कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥याली आयोजना गर्न लागिएको लिङ्देनले बताए ।

सांसद लिङदेनले र्‍यालीमा समान विचार राख्ने सबै व्यक्ति,संगठन र पार्टीलाई राष्ट्रिय झण्डा,आ–आफ्नो संस्था,संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।

मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन भइरहेका छन् । राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि राजावादीहरु यसरी जुर्मुराएका हुन् ।

काठमाडौँ,बुटवल,पोखरा, नेपालगञ्ज,सुर्खेत,धनगढी, जनकपुर,विराटनगरलगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए । राजतन्त्रवादी दलहरु र हिन्दू राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वतस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् ।