काठमाडौं । चिनी मिलबाट भुक्तानी पाउनुपर्ने माग राख्दै आन्दोलनमा रहेका उखु किसानले सरकारसँग ‘बन्द कोठा’मा वार्ता गर्न नसकिने बताएका छन् ।
सरकारका तर्फबाट वार्तामा बस्न भन्दै सोमबार बिहान टेलिफोन आएपछि उखु किसानहरुले बन्द कोठामा बसेर गरिने वार्ताबाट आफूहरुको समस्याको समाधान नहुने बताएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टेलिफोनमार्फत आन्दोलनरत किसानहरुलाई सोमबार दिउँसो वार्तामा आउन भनिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायलाई फोन गरेर वार्तामा आउन भनेका थिए ।
तर, आन्दोलनरत सबै किसानहरुको सल्लाहनुसार आफूले बन्द कोठामा वार्ता गर्न नसकिने जवाफ दिएको रायले जानकारी दिए ।
‘कोठामा गएर, वार्ता गरेर हाम्रो समस्याको समाधान निस्किन्न भने हामीले बुझिसक्यो,’ रायले भने, ‘हामी अब उधारोमा वार्ता गर्दैनौं । मन्त्रीज्यूले हाम्रो वक्यौता राकम बोकेर माइतीघरमै आउनुपर्यो ।’
चिनी मिलहरुले भुक्तानी नदिएको विषयमा विगतमा पनि मन्त्रालयसँग वार्ता गर्दा किसानहरुलाई झुलाउने काम मात्रै भएको रायको भनाइ छ ।
चिनी मिलबाट भुक्तानी नपाएको भन्दै पूर्वी तथा मध्य तराईंका उखु किसानहरुले आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् ।
उखु किसानहरुले सोमबार पनि आफ्नो आन्दोलन जारी राखेका छन् ।
आफूहरुले चिनी मिलहरुबाट करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको आन्दोलनरत उखु किसानहरुले जनाएका छन् ।