कांग्रेस किसान, मजदुर, सीमान्तकृत लगायतको पार्टी हुँदो हो त आज आफ्नो शक्ति प्रदर्शन किसानका पक्षमा बोलेर गर्दो हो !

  • प्रकाशित मिति : 2020-12-14
  • nepaltale.com

काठमाडौं। आफूलाई देशको सबैभन्दा पुरानो र शक्तिशाली पार्टीका रुपमा दाबि गर्ने नेपाली कांग्रेसले आज देशैभर सडकमा भ्रष्टाचारविरुद्ध सडक प्रदर्शन गरिरहेको छ ।

दुईतिहाई मतप्राप्त कम्युनिष्ट सरकारको श्रृंखलाबद्ध भ्रष्टाचारविरुद्ध बोल्नै पर्ने बेला भएको थियो, आवाज बुलंद गर्नै पर्ने बेला भएको थियो । यस अर्थमा कांग्रेसले अहिले सडकमा आएर जे गरिरहेको छ, त्यो एकदमै जायज हो ।



तर, नेपाली कांग्रेसले सडक–सडक, चोक–चोकमा शक्ति प्रदर्शन गरिरहँदा यता माइतीघर मण्डलामा भने आफ्नो वर्षौँदेखिको उखुको पैसा नपाएका किसानको पक्षमा बोलिदिने कोही छैन ।

काठमाडौंसँग गुहार मागेपछि आफ्नो पैसा चिनी मिलका माफियाहरुले दिन्छन् कि भनेर किसानहरु गाउँबाट आन्दोलन गर्नकै लागि ऋण काढेर यहाँ आएका छन् ।

आन्दोलनमा सरिक हुन काठमाडौं आएका उनीहरु अलपत्र अवस्थामा छन् । काठमाडौंको ठिहिर्याउने चिसोसँग लड्न उनीहरुसँग शरीरमा एक जोर न्यानो कपडा छैन । न त छ दिनभर ‘हाम्रो पैसा चुक्ता गर, किसान मार्न पाइँदैन’ भन्दै नारा लगाउँदा–लगाउँदा सुकेको घाँटीलाई भिजाउने पानी । कराउँदा–कराँउदा थाकेको र रिक्तो ज्यानलाई चाहिने खानाको त कुरै छोडौँ । खुला आकाशलाई छानो बनाएर रात बिताउन अभिशप्त छन्, किसानहरु ।

यी किसानमाथि अन्याय भएको छ । रगत–पसिना बगाएर उत्पादन गरेको उखुको पैसा पाएका छैनन्, माफिया मिल सञ्चालकहरुबाट ।
वर्षौँदेखि मिल मालिकहरुले किसानको रगत–पसिना चुसिरहेका छन् । मिल साहूहरु भ्रष्टाचारी हुन् ।

तर, सडकमा भ्रष्टाचारी सरकारविरुद्ध जोश र रोष पोखिरहेका कांग्रेसीहरुलाई यी माफिया मिल मालिकहरु भ्रष्टाचारी लागेनन् । कांग्रेसलाई किसानहरु नेपाली नागरिक लागेनन् । उनीहरु पीरमर्कामा छन् भन्ने ठानेनन् ।

कांग्रेसलाई लागेको हुँदो त आफू मरि अरुको पेट भर्नलाई दिनरात खट्टिने किसानका पक्षमा पक्कै बोल्दो हो । देश र नागरिकलाई बचाइराखेका किसान मरिरहेका बेला किसानको पक्षमा बोल्दो हो ।

नेपाली कांग्रेस किसान, मजदुर, सीमान्तकृत लगायतको पार्टी हुँदो हो त आजको आफ्नो शक्ति प्रदर्शन माइतीघरमा किसानका पक्षमा बोलेर गर्दो हो । ती भ्रष्ट र माफिया मिल मालिकविरुद्ध आवाज उठाउँदो हो ।

नेपाली कांग्रेस, तिम्रो आजको शक्ति प्रदर्शन वर्षौँदेखि अन्यायमा परेका किसानको पक्षमा हुन सकेन । त्यसैले, तिम्रो आन्दोलन भ्रष्टाचारीविरुद्ध हुन सकेन । नेपाली कांग्रेस, भ्रष्टाचारीकै कारण मारमा परेका किसानहरुको पक्षमा हुन नसकेको तिम्रो शक्ति प्रदर्शन कसका लागि, के का लागि ? (कमल बिस्टको फेस्बुक वालबाट)