काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ।
उनीहरुले फेक आइडी बनाई अश्लिल तस्विर छ भन्दै धम्क्याउँने गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगरका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् ।

सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।
सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने र यौन उत्पीडन दिने कार्य गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरेको खुल्न आएको छ ।