तत्कालीन राजा वीरेन्द्रको आज ७६ औं जन्मजयन्ती, यस्तो छ उनको जीवनी

  • प्रकाशित मिति : २०७७ पुष १४, मंगलवार
  • nepaltale.com

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको आज ७६ औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो ।

उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो ।

दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेकाे छ ।

तत्कालीन राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा हुन् । उनको जन्मजयन्तीका अवसरमा राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा जन्मिएका राजा वीरेन्द्रले पिताकाे शासनकालको राम्रै अनुभव पाएका थिए ।

राजा वीरेन्द्र वीर विक्रम शाह वि.स. नेपालका दशौं शाहवंशीय राजा थिए । शाहले वि.सं. २०२८ देखि वि.स. २०५८ जेठ १८ गतेसम्म नेपालको शासन गरेका थिए ।

वीरेन्द्रको जन्म वि.सं.२००२ साल पुष १४ गते भएको थियो । उनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो ।

माध्यामिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उनले बेलायतको इटन कलेजमा पढेका थिए ।

पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.स. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका थिए ।

राजा वीरेन्द्रकै समयमा वि.सं.२०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.स.२०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।