जनकपुरधाम । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म चल्ने भनिएको रेल अझै सञ्चालन हुन सकेको छैन।
रेल सञ्चालनका लागि दुई देशको अन्तरदेशीय रेलमार्गमा दुवै देशको स्वीकृति, कर्मचारी र कानुनको अभावले तत्काल रेल्वे सञ्चालनको छाँटकाँट नभएकाे खबर गाेविन्द महताेले अन्नपूर्ण पाेस्ट दैनिकमा लेखेका छन् ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघ मसान्तमा रेल आउने दाबी गरे पनि रेल विभागका महानिर्देशक प्रमिलादेवी शाक्य वज्राचार्यले रेल चल्ने समय नतोकिएको बताइन्।
‘रेल चलाउने तयारी हामीले गरिराछौं, तर रेल ठ्याक्कै यही मितिमा चल्छ भने निक्र्योल छैन। हामीसँग जनशक्ति अभाव, अन्तरदेशीय स्वीकृतिलगायत कर्मचारी भर्नासहितका काम बाँकी रहेकाले रेल चल्ने÷नचल्ने यकिन भएको छैन’, उनले भनिन्।
सक्दो छिटो रेल चलाउने हाम्रो प्रयास हो, तर मुख्य काम बाँकी नै छ। रेल कम्पनी र रेल विभागबीच समन्वय नभइरहेको बताउँदै महानिर्देशक वज्राचार्यले कानुनको अन्योलता, प्राविधिक समस्या र कर्मचारी अभावले रेल सञ्चालनको मिति तोक्न नसकिएको बताए।