नेपालमा ३ जनामा देखिएको नयाँ कोरोना भाइरस कति घातक ?

  • प्रकाशित मिति : २०७७ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो ।



नयाँ प्रजातिको कोरोना भाइरसको उद्गमस्थल बेलायतबाट केही दिन अगाडि ६ जना नेपाल आएका थिए । नेपाल आएदेखि नै उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निगरानीमा थिए ।

निगरानीमा राखिएका ६ जनाकै नमूना संकलन गरी नेपालमा ‘सार्स–कोभ–२’को परीक्षण गरिएको थियो । जसमध्ये ३ जनाको नमूनामा ‘एस–जिन टार्गेट’ नगेटिभ देखिएकोमा उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो–होइन भनी पुष्टि गर्नका लागि पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।

हङकङ प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई ईमेलमा प्राप्त परीक्षण रिपोर्टमा ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पोजेटिभ देखिएको छ । नयाँ प्रकारको कोरोना संक्रमण पोजेटिभ देखिनेमा ९६७ र ३२ वर्षका २ जना पुरुष र २८ वर्षीया १ जना महिला छन् ।

उनीहरुमा देखिएको कोरोना भाइरस बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ प्रकारको कोरोना देखिएका ३ जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा हाल आरटी–पीसीआर नगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेपनि लक्षण नदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

कस्तो हो नयाँ प्रकारको भाइरस

नेपालमा तीन जना देखिएको र बेलायत लगायका अन्य मुलुकमा तिब्र रुपमा फैलिएको यो कोरोना भाइरस नै हो । यो अर्को कुनै नयाँ भाइरस भने नभएको चिकित्सकहरुले बताएका छन् ।

भाइरसले पटक पटक आफूलाई अपडेट गराएको रुपमा यसलाई लिनुपर्ने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे बताउँछन् ।

‘भाइरस पटकपटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ’ उनले भने ।

बेलायतमा फैलिरहेको नयाँ प्रजातिको भाइरस अहिले विद्यमान भाइरुसभन्दा ५० प्रतिशत भन्दा बढी संक्रामक रहेको पाइएको जनाइएको छ ।

लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसार बेलायतमा फैलिएको नयाँ भेरिएन्ट कोरोना भाइरस विद्यमान भाइरसभन्दा ५० प्रतिशत बढी संक्रामक अर्थात् बढी सर्ने प्रकृतिको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अर्को एक अध्ययनले ५६ प्रीतशतदबढी सर्ने प्रकृतिको बताएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ७० बढी संक्रामक रहेको बताएका छन् ।

अहिले नै यो यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन । तथापि यो शीघ्र फैलिने भएको हुँदा अस्पतालमा भर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने जनाइएको छ । यो नयाँ प्रजातिलाई भीयूआइ नाम दिइएको छ । भीयूआइ भनेको भेरिएन्ट अन्डर इन्भेस्टिगेसन हो । यो भाइरस निकै छिटो सर्ने भएकोले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।

पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार भाइरसको म्युटेसन हुँदा स्पाइकमा पनि म्युटेसन भएको हुँदा बढी संक्रामक भएको हो । यो खालको म्युटेसन पटकपटक भएमा कोरोना भाइरसविरुद्धको खोप फ्लुको खोप जस्तै प्रत्येक वर्ष लगाउनु पर्ने हुनसक्छ ।

कोरोना भाइरस देखिएपछि करीब ४ हजारपटक यसको स्पाइक प्रोटिन जिनको म्युटेसन भएको छ । कोरोना भाइरस आरएनए भाइरस भएको हुँदा यो पटकपटक म्युटेसन हुँदै प्रजनन् हुन्छ ।

यसअघि पश्चिम युरोप र उत्तर अमेरिकामा म्युटेसन भएको म्टज्ञद्धन् प्रजाति छिटो फैलिएपनि त्यति हानिकारक देखिएको थिएन ।

यसअघि नोभेम्बरमा स्विडेनको कृषि फार्ममा तथा जुन र जुलाइमा स्पेनको फार्ममा पनि म्युटेसन भएको थियो ।

अहिले बेलायत लगभग लकडाउनको अवस्थामा छ भने बेलायतसँग अन्तर्राष्ट्रिय जगतले ओहोरदोहोर बन्द गरेको छ । गत बुधवार बेलायतमा एकदिनमा ४० हजार व्यक्ति संक्रमित भएका थिए ।

फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, स्पेन, स्विडेन अमेरिका, दक्षिण अफ्रिका, जापान, लेबनानलगायतका देशमा यो नयाँ प्रजातिको कोरोना भाइरस पुगिसकेको छ ।भारतमा पनि बेलायतबाट आएका धेरै व्यक्तिहरू संक्रमित भएका छन् । उनीहरूलाई आइसोलेसनमा राखेर भाइरसको जिनोम सिक्वेन्स गरिँदैछ ।

अब नेपालमा यो भाइरस प्रवेश गरिसकेका कारण थप गम्भीर बन्नु पर्ने अवस्था आएको छ । त्यसका लागि अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सकिन्छ ।