विपुल पोखरेल तीन हजार मतान्तरले प्यानलसहित निर्वाचित, कसले कति मत पाए ?

  • प्रकाशित मिति : २०७७ चैत्र २८, शनिबार
  • nepaltale.com

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।

अर्कोतर्फ एमाले सम्बद्ध प्रेस चौतारी र जनता समाजवादी पार्टी सम्बद्ध नेपाल प्रेस मञ्चले गठबन्धन बनाएर निर्मला शर्माको नेतृत्वको प्यानल खडा गरेका थिए । सो गठबन्धनले प्रदेश १ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरीले जितेका छन् ।