नयाँ भेरियन्टको कोरोना संक्रमणको आशंका गरिएका १ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • nepaltale.com

काठमाडौं । नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका १ जनाको मृत्यु भएको छ ।

केही दिन अगाडि भारतबाट स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशको कैलालीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीया पुरुषको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनमा आइतबार मात्रै कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको थियो । फागुन पहिलो साता भारतबाट नेपाल आएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

लामो समयसम्म श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तहरुले उपचारका लागि अस्पताल लैजान खोजेका थिए ।

अस्पतालले कोरोना संक्रमण भए नभएको पुष्टि गर्न स्वाब संकलन गरेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

फागुन पहिलो साताबाट भारतबाट आएका उनमा नयाँ प्रकारको कोरोना संक्रमण भएको हुनसक्ने अस्पतालका चिकित्सकहरुले आशंका गरेका छन् ।

यद्यपि नयाँ प्रकारको कोरोना संक्रमण भए-नभएको विषयमा यकीन गर्न नमूना परीक्षणका लागि पठाउने विषयमा छलफल भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ प्रकारको कोरोनाको परीक्षण गर्न नमूना विदेश पठाउनुपर्ने बाध्यता छ ।