भारतको हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रको रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • nepaltale.com

काठमाडौं । भारतको हरिद्वारमा जारी महाकुम्भ मेला अन्तर्गत आज दोस्रो शाही स्थान गरिएको छ ।

शाही स्नान अघि सम्पन्न रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्‍नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निमन्त्रण गरिएको थियो ।

रथ यात्राका क्रममा पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा सवार भएका थिए । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीसलगायत थिए । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन भएको थियो । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्‍नान गरेका थिए ।

रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो । निम्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागी भएका हुन् । पूर्वराजा ज्ञानेन्द्रसमेत रथारोहण कार्यक्रममा सहभागी भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट गुलावको फूलको वृष्टि गरेको थियो।

हरिद्वारमा हरेक वर्ष महाकुम्भ मेला लाग्‍ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वसाथ हेरिएको छ । हरिद्वार पुगेका उनले लिखित मन्तव्य दिँदै हिन्दूधर्ममाथि आक्रमण भइरहेको भन्दै रक्षाका लागि सबै लाग्नु पर्ने बताएका थिए ।